पुनः प्रशिक्षकको रुपमा फर्किने जिदानको संकेत ! कहाँ जालान् ?

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड छाडेयता जिनेदिन जिदान कुनै पनि क्लब अथवा राष्ट्रिय टोलीमा संलग्न छैनन्। जिदान रियल छाडेयता खालि नै छन्। युरोपका धेरै क्लबले जिदानलाई प्रशिक्षकको रुपमा आफ्नो क्लबमा भित्र्याउन चाहेपनि जिदानले मानिरहेका छैनन्।

प्रशिक्षकको रुपमा लामो अनुभाव नभएपनि जिदान सफल प्रशिक्षकमा गनिन्छन्। जिदानले रियलको प्रशिक्षक हुँदा लगातार तीन पटक च्याम्पियन्स लिग जितेर सबैलाई चकित बनाइदिएका थिए। सोहिकारणले गर्दा पनि युरोपका धेरै क्लब उनको पछि छन्।

हालसालै एक अन्तर्वार्ताका क्रममा जिदानले प्रशिक्षकको रुपमा आफ्नो करियर अझै बाँकी रहेको बताए। फुटबल देखि आफू टाढा हुन नसक्ने जिदानको भनाई छ। जिदानका अनुसार उनी अझै प्रशिक्षकको रुपमा लामो समय कम गर्ने योजनामा छन्।

“के म अझै पनि एक प्रशिक्षकको रूपमा केहि योगदान गर्न सक्छु ? पक्कै, धेरै सक्छु। म यो कामलाई जारी राख्न चाहन्छु। किनभने यो मेरो मन पर्ने काम हो। म फुटबल देखि टाढा हुन सक्दिन।”,जिदानले भने।

तीन च्याम्पियन्स लिगको उपाधि बारे के भने ?

रियलको प्रशिक्षकको रुपमा लगातार तीन च्याम्पियन्स लिग जितेको बारे पनि जिदानले केहि बताए। जिदानले आफू वरिपरीका मानिसहरुसँगको सहकार्यले नै च्याम्पियन्स लिगमा सफलता दिलाएको बताए।

उनले भने,”हामीले कडा मेहनत गर्यौं, हामीसँग अविश्वसनीय खेलाडीहरू थिए, र मलाई पछ्याउने टोली थियो। म धेरै चीजहरूको लागि जिम्मेवार थिएँ, तर मेरो पछाडि ठूलो टोली थियो। एक्लै यो सम्भव थिएन। मलाई सहज लाग्ने मानिसहरु मेरो वरिपरी थिए।”

जिदानलाई गएको एक वर्ष भन्दा बढी समय देखि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले भित्र्याउन खोजिरहेको छ। पिएसजीको तर्फबाट कयौं प्रस्तावहरु भएपनि जिदानले सो सम्बन्धमा आफ्नो निर्णय सुनाएका छैनन्। गएको केहि समय देखि जिदान पिएसजी जान तयार भइसकेको खबर पनि आएका छन्। तर त्यसको आधिकारिक पुष्टि भने भएको छैन।

प्रकाशित : सोमबार, असार ०६, २०७९१०:३४

“पिएसजीमै रहने निर्णय गरेर एम्बाप्पेले गज्जब गरे, पिएसजी जस्तो क्लब उनले कतै भेट्दैनन्”