रियल छाडेका मार्सेलोले भेट्टाए क्लब !

एजेन्सी – इटालियन च्याम्पियन एसी मिलन रियल म्याड्रिड लेजेण्ड मार्सेलोलाई भित्र्याउने दौडमा सामेल भएको छ। रियल म्याड्रिड छाडेर फ्री एजेन्ट भएका मार्सेलोलाई भित्र्याउने दौडमा अहिले आएर एसी मिलान पनि मिसिएको हो।

एसी मिलानले मार्सेलोलाई आधिकारिक प्रस्ताव नै गरेको स्पेनिस मिडिया एएसले जनाएको छ। एएसले गरेको दावी अनुसार मिलान मार्सेलोलाई प्रति सिजन ३ मिलियन युरो पारिश्रमीक दिन तयार छ।

तर मिलानको तर्फबाट भएको प्रस्तावलाई मार्सेलोले अस्विकार गरिसकेका छन्। रियल म्याड्रिडमा मिलानले अफर गरेको भन्दा दोब्बर पारिश्रमिक मार्सेलोले पाउँदै आएका थिए। मिलानले रियलको भन्दा आधा पारिश्रमिक प्रस्ताव गरेपछि मार्सेलोले मिलानको प्रस्तावलाई सिधै अस्विकार गरेको स्पेनिस पत्रिका एएसको दावी छ।

मार्सेलोले पहिलो प्रस्ताव अस्विकार गरेपछि मिलानले पारिश्रमिक बढाएर दोस्रो प्रस्ताव गर्ने तयारी गरिरहेको छ। मार्सेलोलाई भित्र्याउन चाहने एसी मिलन एक्लो क्लब भने होइन। मार्सेलोलाई फ्रेन्च क्लब मार्सेले पनि भित्रयाउन चाहेको छ। ३४ वर्षीय मार्सेलोलाई युरोप भन्दा बाहिरका क्लबले पनि नजिकबाट नियालिरहेका छन्।

मार्सेलो १६ वर्ष देखि रियल म्याड्रिडमा थिए। सन् २००६ मा १८ वर्षको उमेरमा मार्सेलो फ्लुमिनेन्सबाट रियलमा पुगेका हुन्। रियलमा रहेर उनले क्लब फुटबलक सबै उपाधि जिते। दुई पटक कोपा डेल रे, छ पटक सुपरकोपा डे स्पाना, तीन पटक यूईएफए सुपर कप र चार पटक फिफा क्लब विश्वकप जितेका छन्।

त्यस्तै उनको नाममा छ ला लिगा उपाधि र पाँच च्याम्पियन्स लिग उपाधि पनि छन्। उनले रियल क्लबका लागि कुल ५४४ खेल खेलेका छन्। रियलबाट खेल्दा उनले ३७ गोल गरेका छन् भने १ सय ३ असिस्ट दिएका छन्।

प्रकाशित : सोमबार, असार ०६, २०७९११:०४

यी युवा मिडफिल्डरका लागि लिभरपुल र रियल बीच अहिले देखि नै ‘सिंगौरी ‘!