“सलाहले राष्ट्रिय टोलीका लागि सिन्को भाँच्न सकेका छैनन्”

एजेन्सी – इजिप्टका पूर्व प्रशिक्षक हसन शेहाताले लिभरपुलका फरवार्ड मोहम्मद सलाहले आफ्नो राष्ट्रिय टोलीका लागि खासै ठूलो योगदान दिन नसकेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा शेहाताले इजिप्टको राष्ट्रिय टोलीका लागि अहिले सम्म खासै केहि गर्न नसकेको बताएका हुन्।

शेहाताका अनुसार सलाहले इजिप्टका लागि धेरै गर्न सक्नुपर्थ्यो। लिभरपुलका लागि उच्च प्रदर्शन गरिरहेपनि सलाहले इजिप्टका लागि भने त्यस्तो राम्रो खेल्न नसकेको शेहाताको आरोप छ।

“प्राविधिक रूपमा मोहम्मद सलाहले राष्ट्रिय टोलीका लागि खासै केहि गर्न सकेका छैनन्। यो भन्नु पर्दा म माफी माग्छु। तर सत्य कुरा यहि नै हो कि उनले बेलायतमा जस्तो इजिप्टका लागि त्यस्तो राम्रो योगदान दिएका छैनन्।”,शेहाताले भने।

इजिप्टका लागि राम्रो खेल्न नसकेको आरोप सलाह माथि लागेको यो पहिलो पटक भने होइन। यस भन्दा अगाडी पनि उनी माथि इजिप्टका लागि राम्रो खेल्न नसकेको आरोप लाग्ने गरेको थियो।

सलाहले इजिप्टको राष्ट्रिय टोलीका लागि अहिले सम्म ८७ खेल खेलेका छन्। जसमा उनले ४७ गोल गरेका छन्। सलाह इजिप्टका दोस्रो सर्वाधिक गोल कर्ता हुन्। उनी सर्वाधिक गोलकर्ता होसम हसनलाई पछ्याइरहेका छन्। हसनले इजिप्टका लागि ६८ गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९१७:४२

ब्राजिली विंगरलाई पोर्चुगिज क्लबले भित्र्यायो !