लेवान्डोस्कीलाई फकाउने बायर्नको प्रयास असफल, जुनै पनि हालतमा बार्सिलोना नै जाने !

एजेन्सी – पोलिस स्टार फुटबलर रोबर्ट लेवान्डोस्कीलाई फकाउने बायर्न म्युनिखको प्रयास असफल भएको छ। यहि समर ट्रान्सफर विन्डोमा बायर्न छाड्ने पक्षमा रहेका लेवान्डोस्कीलाई बायर्नले फकाउन गरेको प्रस्ताव असफल भएको हो।

विभिन्न जर्मन मिडियाहरुका अनुसार बायर्नले लेवान्डोस्कीलाई फकाउन क्लबका खेल निर्देशक हसन सलिहामिडजिकलाई पठाएको थियो। सलिहामिडजिकले लेवान्डोस्कीलाई माल्लोर्कामा पुगेर भेटेको बताइएको छ। लेवान्डोस्की अहिले माल्लोर्कामा छुट्टि मनाइरहेका छन्।

सलिहामिडजिकले फकाउने भरपुर प्रयास गरेपनि लेवान्डोस्की बायर्नमा रहन तयार नभएको जर्मन मिडियाहरुको दावी छ। भेटघाटका क्रममा लेवान्डोस्कीले क्लबमा रहने पक्षमा आफू नरहेको र सहज तरिकाले बहिर्गमनको वातावरण बनाउन आग्रह गरेको बताइन्छ।

लेवान्डोस्की नयाँ क्लबमा जानेमा स्पष्ट छन्। उनी कुनै पनि हालतमा बायर्न छाडेर अन्यत्र जाने पक्षमा छन्। लेवान्डोस्कीलाई अब नयाँ चुनौती चाहिएको छ र त्यसको लागि उनी पूर्ण रुपले तयार छन्।

लेवान्डोस्कीले पहिला बायर्नका अधिकारीहरुले क्लब छाड्न चाहेको बारे जानकारी गराएका थिए। बायर्नका अधिकारीहरुले बिक्री गर्नेमा खासै चासो नदेखाएपछि लेवान्डोस्कीले सार्वजनिक रुपमा पनि त्यस बारे बोलिसकेका छन्।

केहि समय अगाडी लेवान्डोस्कीले बायर्नमा आफ्नो कथा सकिसकेको बताएका थिए। त्यसबेला आफूलाई बिक्री गर्नु नै बायर्न र आफ्नो लागि राम्रो हुने उनको भनाई थियो। त्यसपछि पनि उनले विभिन्न अवसरहरुमा सम्बन्ध नबिगारी आफूलाई जान दिन आग्रह गरिसकेका छन्।

प्रकाशित : मङ्गलबार, असार ०७, २०७९२१:१३

जाभीको योजनाबाट यी खेलाडी आउट, किन्न पाँच क्लब तयार !